
दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’को नाममा आपराधिक समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन् ।
विश्वव्यापी रूपमा उस्तै प्रकृतिको अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपालसमेत परेको उनको भनाइ थियो । झापामा नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनअसन्तोषको आवरणमा गरिएका आपराधिक क्रियाकलापका कारण देश अप्ठ्यारो परिस्थितिमा पुगेको बताए ।
उनले बंगालादेशमा भएको घटनाक्रमपछि नेपालमा पनि उस्तै प्रकारको आन्दोलन भएको स्मरण गर्दै त्यसप्रति सचेत रहनुपर्ने धारणा राखेका छन् । शिक्षक आन्दोलनमा समेत बाह्य धुसपैठ हुन सक्ने आशंका व्यक्त गर्दै उनले समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको दाबी गरे ।
आन्दोलन केही दिन लम्बिएको भए त्यहाँ पनि घुसपैठ हुन सक्ने सम्भावना रहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले शिक्षकहरूको समस्या समाधानका लागि आफूले पटकपटक शिक्षक संघ संगठनका प्रतिनिधिहरूलाई संवादका लागि बोलाएको स्मरण गराउँदै वार्ता र समझदारीमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
शिक्षकका समस्या समाधान गर्न आफू र आफ्नो पार्टी सधैँ लागिपरेको उनले स्पष्ट पारेका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले देशलाई अस्थिर बनाउने कुनै पनि गतिविधिविरुद्ध सजग रहन आग्रह गरेका छन् ।
लोकतान्त्रिक प्रणालीभित्र रहेर असन्तोष व्यक्त गर्न सबै पक्षलाई अपिल गर्दै उनले कुनै असन्तोष भए छलफल र सहमतिमार्फत समाधानतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन झापा पुगेका ओली केही दिन मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त रहने सचिवालयले जनाएको छ ।
























