रास्वपाद्वारा ५ वर्षभित्र ठोस प्रतिफल दिने प्रतिबद्धता

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १८:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ५ वर्षका लागि स्पष्ट कार्ययोजनासहित नागरिक करार सार्वजनिक गरेको छ । नागरिकको मतलाई लगानीको रूपमा व्याख्या गर्दै पार्टीले ५ वर्षभित्र ठोस प्रतिफल दिने प्रतिबद्धता जनाएको हो ।

रास्वपाले सदाचार र सुशासन, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवासलाई मुख्य प्राथमिकता बनाएको छ । भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्दै सरकारी सेवा पूर्ण डिजिटल बनाउने र विक्रम संवत २०४६ यताका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना अघि सारिएको छ ।

आर्थिक क्षेत्रमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन १ सय अर्ब डलर पुर्‍याउने लक्ष्य लिइएको छ । एकीकृत सामाजिक सुरक्षा र शतप्रतिशत बिमासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि गरिएको छ ।

युवा पलायन रोक्न सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योग क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ । पूर्वाधारतर्फ १५ हजार मेगावाट विद्युत् उत्पादन, ३० हजार किलोमिटर राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्वका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विदेशमा रहेका नेपालीका लागि अनलाइन मताधिकार र वंशज नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ । वाचा पूरा नभए राजनीतिक सजाय स्वीकार गर्ने पार्टीको घोषणा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.