
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रूपमा प्रचारप्रसार गर्न पाइने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न सक्नेछन् ।
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन् । उनका अनुसार उल्लंघन पुष्टि भएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिबाना गर्ने वा आवश्यक परे उम्मेदवारी खारेज गर्नेसम्मको कानुनी व्यवस्था छ ।
उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचारप्रसार गर्न सक्नेछन् । आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचन अवधिमा सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले जनाएको छ । निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न आयोगले सबै पक्षलाई सचेत गराउँदै स्वच्छ, निष्पक्ष र मर्यादित प्रचारप्रसारमा जोड दिएको छ ।

























