
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा (एमाले)का इरनकुमार राईले पर्यटन, कृषि आधुनिकीकरण र राजनीतिक सुधारलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, समृद्ध नेपाल सुखी नेपाली’ नारासहित चुनावी मैदानमा उत्रिएका राईले मोरङ–३ लाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र समृद्ध क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका हुन् । प्रतिबद्धता पत्रमार्फत उनले बेलबारीको बेतना सिमसार, सिसौली सिमसार, रमितेडाँडा, सुजना पार्क, पथरीको श्रीजंगा पार्क र भुल्के डाँस मोरङलगायत पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।
एशियन हाइवे आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारेका छन् । सहरी बजारको सौन्दर्यीकरण, संस्कृति संरक्षण र स्थानीय उत्पादनको प्रवर्धनमार्फत पर्यटन आकर्षण बढाइने उल्लेख गरिएको छ ।
कृषितर्फ ‘कृषि नीति तथा राष्ट्रिय आत्मनिर्भरता’लाई आधार बनाउँदै आधुनिक प्रविधि विस्तार, अनुदान र सहुलियत ऋण उपलब्ध गराउने, उन्नत बीउ उत्पादन केन्द्र स्थापना गर्ने तथा मलखाद र बीउबिजनको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । ‘१ वडा–१ कृषि प्राविधिक’ कार्यक्रममार्फत कृषकलाई प्राविधिक सेवा उपलब्ध गराउने, बिचौलियामुक्त बजार प्रणाली विकास गर्ने र डिजिटल मार्केट प्लेटफर्ममार्फत किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने योजना पनि समेटिएको छ ।
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने उनको दाबी छ । राईले संविधान संशोधन, संघीय संरचनाको प्रभावकारी कार्यान्वयन र प्रदेश संरचना पुनर्संरचनालाई पनि प्राथमिक एजेन्डा बनाएका छन् ।
आर्थिक मितव्ययिता र सुशासनलाई केन्द्रमा राखेर शासन प्रणाली सुधार गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै विकासलाई तीव्रता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा मोरङ–३ मा उम्मेदवारबीचको प्रतिस्पर्धा तीव्र बनेको छ ।
























