
काठमाडौँ। बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा ढाका जाने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
बङ्गलादेशमा हालै सम्पन्न संसदीय निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई–तिहाइ बहुमतका साथ ऐतिहासिक जित हासिल गरेको छ। बीएनपीको नेतृत्व गरिरहेका तारिक रहमानले मंगलबार (फेब्रुअरी १७) प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्।
परराष्ट्रमन्त्री शर्मा आजै ढाकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। १७ वर्षको लामो निर्वासनपछि स्वदेश फर्किएका रहमानले नेतृत्व गरेको बीएनपीले २९९ मध्ये २१२ सिट जित्दै सत्तामा पुनरागमन गरेको हो। यस समारोहलाई दक्षिण एसियाली क्षेत्रको महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ।

























