
काठमाडौं। सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज गृह मन्त्रालय पुगेर दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
सार्वजनिक विकास निर्माणमा खटिने प्राविधिकहरूमाथि असुरक्षा बढेको भन्दै एशोसिएसनले यस्ता घटना रोक्न ठोस कदम चाल्न सरकारलाई दबाब दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय सदस्य इन्जिनियर विक्रम कुमार दासले इन्जिनियर र प्राविधिक कर्मचारीको सुरक्षालाई राज्यले नजरअन्दाज गर्न नहुने बताए।
उनले पेशागत सुरक्षाको प्रत्याभूति नभएसम्म कामकाज गर्न कठिन हुने भन्दै सरकारले तत्काल प्रभावकारी कदम नचाले देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्। यस्ता साङ्घातिक आक्रमणले कर्मचारीको मनोबल गिर्ने भएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न एशोसिएसनले जोड दिएको छ।
एशोसिएसनले सर्लाही घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र देशभरका इन्जिनियरहरूलाई निर्धक्कसँग काम गर्ने वातावरण मिलाउन सरकारसँग जोडदार माग गरेको छ।

























