
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको संरक्षण र संसदीय सर्वोच्चताका लागि आफू आगामी प्रतिनिधि सभा निर्वाचनमा होमिएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर-५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी प्रचारप्रसारका क्रममा उनले यस्तो बताएका हुन्।
आम सर्वसाधारणसँगको भेटमा नेता कोइरालाले संसदको सर्वोच्चता नभए भोलि कांग्रेस पनि कम्युनिष्ट जस्तै हुन सक्ने खतरा औँल्याए। उनले भने, ‘मुलुकको राजनीतिक अवस्था गम्भीर छ, त्यसैले विराटनगरवासीले यस निर्वाचनलाई गम्भीरतापूर्वक लिएर मतदान गर्ने अपेक्षा गरेको छु। नयाँ पार्टीहरूले पुराना दलका विरुद्ध फैलाएको अफवाह र नकारात्मक भाष्यलाई चिर्न आवश्यक छ।’उनले जेन्जीविद्रोहका कारण ०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्षअघि नै आएको उल्लेख गर्दै यसलाई जनमत संग्रहको रूपमा लिनुपर्ने बताए।
नेता कोइरालाले वैदेशिक रोजगारीमा रहेका युवाहरूले यहाँको वास्तविकता नबुझी घरका अभिभावकलाई अमुक पार्टीमा मत हाल्न दबाब दिइरहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘विदेशमा रहेकाहरूले यहाँको अवस्था बुझ्न जरुरी छ, घरमा समस्या पर्दा आमाबुबालाई सहयोग गर्ने हाम्रै दलका साथीहरू हुन्।’ उनले वित्तीय आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिका पहिलो स्थानमा पर्नु गौरवको कुरा भएको बताउँदै काठमाडौं महानगरपालिका भने सुशासन र पारदर्शितामा अन्तिम स्थानमा पुगेको टिप्पणी गरे।
स्थानीय पूर्वाधारका विषयमा बोल्दै कोइरालाले जामुनगाछी-सुनसरी हुलाकी सडक निर्माणमा भएको ढिलाइलाई कांग्रेसले नै ठेकेदार खोजेर अघि बढाएको दाबी गरे। साथै, विराटनगरको वडा नम्बर ४, ५, ११ र १२ मा हुने डुबान समस्या समाधानका लागि केशलिया र बुढी खोलामा तटबन्ध निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
























