
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारका अवसरमा मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
उनले लोकतन्त्रमा जनताको अभिमत व्यक्त गर्ने सबैभन्दा उपयुक्त र वैधानिक माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरे। राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सुशासन र आर्थिक समृद्धि अपरिहार्य रहेको कुरामा जोड दिए।
शेर्पा समुदायको योगदानको प्रशंसा गर्दै उनले भने, ‘आफ्नै विशिष्ट परम्परा, संस्कृति र पहिचान रहेको शेर्पा समुदायले नेपालको सान र गौरव विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ हिमाली क्षेत्रबाट विश्वका विभिन्न कुनामा पुगेर शेर्पा जातिले नेपालको प्रतिष्ठा बढाएकोमा उनले खुसी व्यक्त गरे।
नेपालका मौलिक चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व बढाउन योगदान पुर्याउँदै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउनु सबैको साझा दायित्व भएको बताए। शेर्पा समुदायले यस वर्षको ग्याल्पो ल्होछार फागुन ६ गते मनाउँदैछन्।

























