
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले यस्ता गतिविधिप्रति कडा आपत्ति प्रकट गरेको हो।
पार्टीले केही सञ्चार माध्यमहरूले पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीको अवमूल्यन गर्न खोजेको आरोप लगाएको छ। ‘भ्रामक र गलत सूचना फैलाएर पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको छ, यस्ता कार्यप्रति हाम्रो गम्भीर असहमति छ,’ नेकपाले भनेको छ।
नेकपाले सबै सञ्चारमाध्यमहरूलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा र नैतिकता पालना गर्न आग्रह गर्दै निर्वाचन आयोगले तोकेको आचारसंहिताको कडाइका साथ पालना गर्न समेत अनुरोध गरेको छ। साथै, निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमनका लागि पार्टीले नेपाल प्रेस काउन्सिललाई विशेष अपिल गरेको छ।
























