
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पार्टीले १० वर्षभित्र नेपाललाई ‘उद्यमी राष्ट्र’ बनाउने महत्वाकांक्षी लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै संरक्षणमुखी नीति अपनाइने उल्लेख छ। राज्यले कृषिको पूर्ण जिम्मेवारी लिएमा आगामी ५ वर्षभित्रै नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने दाबी पार्टीले गरेको छ। यस्तै, १० वर्षको अवधिमा ३० लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रबाटै १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ ५ वर्षभित्रै स्थानीय तहसम्म आपतकालीन सेवा, विषपान तथा सडक दुर्घटना व्यवस्थापनका लागि दक्ष जनशक्ति र आवश्यक उपकरणसहितको आधारभूत स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूर्वाधार, शिक्षा, प्रशासन र राजनीति लगायतका सबै क्षेत्रलाई राष्ट्रिय उत्पादन र उद्यमशीलतासँग जोड्ने गरी पुनर्गठन गरिनुपर्नेमा जोड दिइएको छ। पार्टीले देशको विद्यमान आर्थिक र राजनीतिक संरचनामा सुधार गर्दै आगामी एक दशकभित्र समृद्धिको आधार तयार पार्ने संकल्प गरेको छ।
























