
काठमाडौं । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई लक्षित गर्दै विकास र समृद्धिको विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
एमाले झापा–५ क्षेत्रीय कमिटीले मंगलबार औपचारिक रूपमा ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै यस क्षेत्रलाई पूर्वी नेपालको नमूना निर्वाचन क्षेत्र बनाउने दाबी गरेको छ । एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि र सुशासनलाई मूल प्राथमिकतामा राखिएको उल्लेख छ ।
पार्टीले विगतमा आफ्नै नेतृत्वमा सुरु गरिएका बहुचर्चित योजनाहरूलाई निरन्तरता दिँदै अधुरा रहेका आयोजना सम्पन्न गर्ने अठोट दोहोर्याएको छ । ओली नेतृत्वको सरकारले अघि बढाएका पूर्वाधार योजनाहरूलाई संस्थागत गर्दै अब झापा–५ लाई ती योजनाको प्रत्यक्ष लाभ पुग्ने क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व र सुशासनलाई विकासको आधारका रूपमा व्याख्या गरिएको छ । देशमा दोहोरिँदै आएको राजनीतिक अस्थिरता अन्त्य नगरी समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भन्दै एमालेले स्थिर सरकार र नीतिगत निरन्तरताको आवश्यकता औंल्याएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक स्रोत साधनको दुरुपयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्रलाई सुदृढ गरिने उल्लेख गरिएको छ । समसामयिक प्रविधि र डिजिटल युगका चुनौतीलाई पनि एमालेले आफ्नो प्रतिबद्धतामा समेटेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी नियमन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिको प्रयोग विकास, शिक्षा र रोजगारी सृजनामा केन्द्रित गरिने बताइएको छ । डिजिटल साक्षरता अभिवृद्धि, अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने संकेत पनि प्रतिबद्धता पत्रमा गरिएको छ ।
झापा–५ का बासिन्दाले वर्षौंदेखि भोग्दै आएको नदी कटान र बाढी समस्यालाई एमालेले प्रमुख मुद्दाका रूपमा उठाएको छ । रतुवा, मावा र कमल खोला लगायतका नदीहरूमा तटबन्धन निर्माण गरी कटान नियन्त्रण गर्ने योजना अघि सारिएको छ ।
बाढीका कारण हरेक वर्ष खेतीयोग्य जमिन र बस्ती जोखिममा पर्ने अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्ने दाबी गरिएको छ । साथै, नदी पार गर्न पक्की पुल निर्माण गरी आवागमन सहज बनाइने उल्लेख छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा एमालेले सडक र पुल निर्माणलाई उच्च प्राथमिकता दिएको छ । दमक–चिसापानी–रवि सडकखण्डको निर्माण कार्यलाई शीघ्र पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्गअन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यी आयोजना सम्पन्न भएमा झापा–५ को यातायात सञ्जाल सुदृढ हुने, कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्ने र औद्योगिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।
उन्नत बीउ बिजन, सिँचाइ सुविधा विस्तार, कृषि यान्त्रीकरण र बजार व्यवस्थापनमा सरकारी सहजीकरण गरिने उल्लेख छ । युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न सहुलियत ऋण, तालिम र प्रविधि हस्तान्तरणको कार्यक्रम ल्याइने बताइएको छ । झापा–५ लाई खाद्यान्न, दुग्ध तथा बागवानी उत्पादनको प्रमुख केन्द्र बनाउने लक्ष्य एमालेले राखेको छ ।
स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाइएको छ । स्थानीय स्वास्थ्य चौकीहरूको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरण उपलब्ध गराउने योजना समेटिएको छ । गम्भीर बिरामीलाई बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्न क्षेत्रीय स्तरमै विशेषज्ञ सेवा विस्तार गर्ने दाबी गरिएको छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । विद्यालय पूर्वाधार सुधारसँगै सूचना प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने योजना एमालेले अघि सारेको छ । उच्च शिक्षाका लागि छात्रवृत्ति र अनुसन्धानमा सहयोग उपलब्ध गराइने उल्लेख छ ।
एमालेले झापा–५ लाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि अघि सारेको छ । साना तथा मझौला उद्योग प्रवर्धन, उद्यमशीलता विकास र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत रोजगारी सृजना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । पर्यटनको सम्भावना रहेका क्षेत्रको पहिचान र पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना पनि समेटिएको छ ।
एमालेका अनुसार प्रतिबद्धता पत्र एउटा घोषणापत्र नभई कार्यान्वयनयोग्य योजना हो । स्थानीय जनताको सुझाव र आवश्यकताका आधारमा तयार पारिएको दाबी गर्दै एमालेले आगामी कार्यकालमा स्पष्ट समयसीमा र कार्ययोजनासहित काम अघि बढाइने जनाएको छ ।
झापा–५ मा लामो समयदेखि राजनीतिक प्रभाव कायम राख्दै आएका ओलीले यसपटक पनि विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले क्षेत्रीय विकासलाई बहुआयामिक रूपमा समेटेको देखिन्छ ।
यस्तो छ प्रतिबद्धता पत्र


























