
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक करिब ९० हजार मतपेटिका तयारी अवस्थामा राखेको छ ।
यसपटक देशभर ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तय गरिएको छ । मतदानका लागि ९० हजार मतपेटिकाको व्यवस्था गरिएको हो । काठमाडौं र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ ।
दुवै जिल्लाका निर्वाचन कार्यालयमा पर्याप्त भण्डारण स्थल नभएकाले केन्द्रीय कार्यालयबाटै व्यवस्थापन गरिएको हो । भक्तपुरमा भने जिल्ला निर्वाचन कार्यालयमै मतपेटिका भण्डारण गरिएकाले त्यहीँबाट मतदान केन्द्रसम्म पठाइने व्यवस्था मिलाइएको छ ।
चितवनमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केही मतपेटिका जलाइएपछि मौज्दात अभाव भएको थियो । त्यसपछि आयोगको केन्द्रीय कार्यालयबाट २ हजार ५ सय थान मतपेटिका चितवन पठाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
अन्य ७४ जिल्लामा २०७९ सालमै पठाइएका मतपेटिकाको मौज्दातबाटै यसपटकको निर्वाचन सञ्चालन गरिने आयोगले जनाएको छ । क्षतिग्रस्त सामग्री प्रतिस्थापन गरी आवश्यक परीक्षणपछि पुनः प्रयोगमा ल्याइनेछ ।
आयोगले मतपेटिका ढुवानी र सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूसँग समन्वय गरिएको जनाएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिने आयोगको भनाइ छ ।

























