
काठमाडौं । शिवरात्रीको ड्युटीमा पशुपति क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए। शिवरात्रीको समयमा उनले डिउटीमा रहेका एक प्रहरीको छातीमा लात्तीले हानेका थिए। प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वत्र आलोचना भएको थियो।
भिडियो सार्वजनिक भए पनि सुरुमा ती युवकको पहिचान हुन सकेको थिएन। प्रहरीले एक सूचना जारी गर्दै आक्रमण गर्ने व्यक्तिको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो। नागरिकको सहयोग र प्राविधिक अनुसन्धानका आधारमा उनलाई चागलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

























