मोरङ–४ मा जीवन घिमिरेको अभियान तीव्र, ‘हरेक मतदातासम्म एजेण्डा पुर्‍याउनुपर्छ’

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १९:१६

विराटनगर । आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरेले चुनावी अभियान तीव्र बनाएका छन् ।

विराटनगर महानगरपालिका–८ मा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रत्येक मतदातासम्म पार्टीको एजेण्डा स्पष्ट रूपमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । उनले पछिल्लो समय देखिएका राजनीतिक र आर्थिक चुनौतीको सामना गर्न आफ्नो पार्टी सक्षम रहेको दाबी गरे ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले टोलटोलमा खटिएका कार्यकर्ताहरू नै मतदातालाई तथ्य र उपलब्धिबारे बुझाउन सबल रहेको बताए । ‘निर्वाचन जित्ने आधार भनेको मतदातासँग प्रत्यक्ष संवाद हो,’ उनले भने, ‘हामीले गरेका काम र आगामी योजनाबारे स्पष्ट जानकारी दिन सके मतदाता आफैं निर्णय गर्न सक्षम हुन्छन् ।’ उनले कार्यकर्ताहरूमा निर्वाचनलाई लिएर उच्च मनोबल रहेको उल्लेख गर्दै अन्तिम समयसम्म सक्रियता कायम राख्न आग्रह गरे ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका घिमिरे कोशी प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा उल्लेख्य काम गरेको उनको भनाइ छ ।

विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडान र मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाको पहललाई उनले उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । केही दिनअघि सार्वजनिक गरेको ३३ बुँदे प्रतिबद्धता पत्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

मोरङ–४ मा घिमिरेसँगै नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धा रोचक बन्दै गएको मोरङ–४ मा उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.