
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै यस दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्यतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतान्त्रिक मूल्यमान्यताका लागि भएका विभिन्न ऐतिहासिक आन्दोलनमा योगदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन् ।
उनले प्रजातन्त्र स्थापना सहज नभएको उल्लेख गर्दै निरंकुश शासनविरुद्ध भएका बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप नेपाली जनताले मानवअधिकार तथा नागरिक स्वतन्त्रता प्राप्त गरेको स्मरण गरेका छन् । विक्रम संवत २००७ को ऐतिहासिक क्रान्तिले मुलुकमा प्रजातन्त्रको आधारशिला निर्माण गरेको र त्यही उपलब्धिको सम्झना तथा सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको उनले बताएका छन् ।
राष्ट्रपति पौडेलका अनुसार, ‘जनताको सार्वभौमसत्ता जनतामै निहित हुनुपर्छ भन्ने मान्यता सहिदहरूको बलिदान र जनआन्दोलनबाट स्थापित भएको हो ।’ उनले यस दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा स्मरण गर्नुपर्ने उल्लेख गरेका छन् ।
लामो संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताको ऐतिहासिक उपलब्धि भन्दै उनले वर्तमान संविधान निर्माणमा २००७ सालको क्रान्तिको महत्वपूर्ण योगदान रहेको बताए । उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई आत्मसात गर्दै न्याय, समानता र सामाजिक न्यायमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराएका छन् ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले प्रजातन्त्र र लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव र समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । ‘जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई लोकतान्त्रिक व्यवस्थाले संस्थागत गरेको छ,’ सन्देशमा उल्लेख छ ।
उनले संविधान, लोकतन्त्र र जनताले अपेक्षा गरेको सुशासन तथा तीव्र विकासको मार्ग प्रशस्त गर्न निर्वाचन प्रक्रियालाई सफल बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न उनले अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि हासिल गर्नु नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएको स्पष्ट पार्दै यस अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्वलाई स्थायी बनाउने र सहिदहरूको बलिदानलाई सदैव स्मरण गराउने विश्वास व्यक्त गर्दै राष्ट्रिय एकता, सहकार्य र पारदर्शितामार्फत समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

























