प्रजातन्त्र दिवसमा ओलीको सन्देश : राष्ट्रिय, संवैधानिक र सांस्कृतिक जिम्मेवारी पूरा गरौँ

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार ०९:२६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा देशवासीलाइ शुभकामना दिँदै तीन प्रकारको जिम्मेवारी बोध गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत सन्देश दिँदै उनले भनेका छन्, ‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ – पहिलो, राष्ट्रिय स्वाधीनता र गरिमालाई जोगाउँदै देशको हित सुरक्षित गर्नु । दोस्रो, संविधानको संरक्षण गर्दै जनताको लोकतान्त्रिक अधिकार र मूल्यको रक्षा गर्नु । तेस्रो, आम विध्वंसबाट क्षतिग्रस्त भएका राष्ट्रका धरोहर, समृद्ध सांस्कृतिक सम्पदा, उद्योग र पूर्वाधार पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु ।’

उनले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानले स्थापित ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन् । जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको दिन प्रजातन्त्र दिवस भएको उनले बताए । साथै, ओलीले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ओलीले यस ऐतिहासिक दिनको प्रेरणालाई आत्मसात गर्दै सबै नागरिक, विशेष गरी युवापुस्ता, सचेत र जिम्मेवार भएर अगाडि बढ्न अपिल गरेका छन् । उनले प्रजातन्त्रको रक्षा र समृद्धिको मार्गमा प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.