
काठमाडौं । ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा’ भन्दै दुर्गा प्रसाईंको सचिवालयले संयोजक प्रसाईंलाई रिहा नगरिएको घटनाप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
सचिवालयले सरकारले प्रसाईंलाई विना कुनै ठोस कारण हिरासतमा राखेको भन्दै आपत्ति जनाएको हो । सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ । यस अन्यायविरुद्ध र उहाँको ससम्मान रिहाइका लागि पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेकोले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रम घोषणा गरेका छौँ ।’
फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरिएको थियो । यसअनुसार सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था र व्यापारिक प्रतिष्ठान पूर्ण रूपमा बन्द रहने घोषणा गरिएको छ । साथै, बन्दको समयमा मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा पनि आयोजना गरिने बताइएको छ ।
सचिवालयले बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनर्स्थापनापछि मात्र चुनावको वातावरण तयार हुने विश्वास व्यक्त गर्दै सरकारलाई महाअभियानले उठाएका २७ बुँदे माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।
























