
विराटनगर । नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरलाई पुनः देशको राजनीतिक र औद्योगिक राजधानीको रूपमा स्थापित गर्ने बताएका छन् । विराटनगरमा आयोजित ‘तरुण’ युवा भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।
विराटनगरले आफ्नो पुरानो पहिचान गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए । ‘कुनै समय विराटनगर मुलुककै औद्योगिक नगरीका रूपमा परिचित थियो, तर अहिले अन्य सहरहरूले हामीलाई उछिनेको आभास भइरहेको छ,’ कोइरालाले भने, ‘म यस पटक संसदमा गएर विराटनगरलाई पुनः राजनीतिक राजधानी र औद्योगिक नगरीका रूपमा स्थापित गर्ने मेरो संकल्प पूरा गर्ने छु ।’
आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै डा. कोइरालाले विराटनगरको मुहार फेर्नका लागि केशलिया र सिंघिया नदीमा तटबन्धसहितको कोरिडोर निर्माण गर्ने योजना अघि सारे ।
विराटनगरको गुद्री बजारलाई सार्वजनिक निजी साझेदारी मोडलमा व्यवस्थित गर्ने उनको भनाइ छ । कोइरालाले २००७ सालमा प्राप्त प्रजातन्त्र र संसदीय सर्वोच्चता अहिले खतरामा परेको दाबी गरे । ‘लोकतन्त्र र राष्ट्रियता बचाउनका लागि पनि मेरो संसदमा उपस्थिति आवश्यक छ, उनले भने ।
























