
धरान । नयन एडभरटाइजिङ मिडिया प्रा.लिद्वारा सञ्चालित प्रदेश खबर डटकम अनलाइनले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर दुर्घटनामा परेका धरानका पत्रकार रणध्वज लोहारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गत असोज २८ गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका लोहारको करिब दुई महिना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइएको थियो । हाल उनी घरमै आराम गरिरहेका छन् । कठिन अवस्थासँग जुध्दै पुनः सक्रिय हुने उनको यात्राले सञ्चार क्षेत्रलाई प्रेरित गरेको छ ।
प्रा.लिका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारीको नेतृत्वमा गएको टोलीले लोहारको धरान पानबारीस्थित निवासमै पुगेर २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो । टोलीमा नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष विवेक विवश रेग्मी, प्रदेश खबरका समाचार संयोजक कृष्ण जुनेली भट्टराई र डेस्क सम्पादक खेमराज सापकोटा सहभागी थिए ।
अध्यक्ष अधिकारीले वार्षिकोत्सवलाई सञ्चारकर्मीको समस्यामा साथ दिने अवसर बनाउन पाउँदा खुसी लागेको बताउँदै प्रदेश खबर सधैँ पत्रकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । सहयोग प्राप्त गरेपछि भावुक बनेका लोहारले प्रदेश खबरको सहयोगले आफूलाई थप हौसला दिएको बताउँदै छिट्टै पूर्ण स्वास्थ्य लाभ गरेर पुनः पत्रकारितामा सक्रिय हुने बताए ।
यसै अवसरमा प्रदेश खबरले सुनसरीका तीन सयभन्दा बढी पत्रकारका लागि करिब तीन लाख रुपैयाँ बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले सञ्चारकर्मीको सुरक्षा र कल्याणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि पनि प्रदेश खबरले इटहरीका पत्रकार पीबी दियालीलाई क्यान्सर उपचारका लागि सहयोग गरेको थियो ।
प्रदेश खबरले हरेक वर्ष नयन मिडिया फाउन्डेसनमार्फत आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’ यस वर्ष पनि निरन्तरता दिने जनाएको छ । कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने उक्त कार्यक्रम आगामी चैत्र ७ गते आयोजना गर्ने तयारी रहेको छ । निर्वाचन आचारसंहिताका कारण फागुन ७ गते हुनुपर्ने कार्यक्रमको मिति पछि सारिएको हो ।
वार्षिकोत्सवलाई सहकार्य, सहयोग र पत्रकार सुरक्षाको सन्देशसँग जोड्दै प्रदेश खबरले आगामी दिनमा पनि सञ्चारकर्मीको हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

























