
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। बिहीबार राति हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै गएको जन्ती र स्थानीय मस्जिदमा नवाज पढिरहेका मुस्लिम समुदायका व्यक्तिहरूबीच विवाद भएपछि झडप सुरु भएको हो।
विवादका क्रममा मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका मानिसलाई कुटपिट गरेपछि तनाव बढेको थियो। सोही विषयलाई लिएर आज बिहानैदेखि पुनः दुई पक्षबिच ढुङ्गा हानाहान सुरु भएको छ। अवस्था नियन्त्रण बाहिर जान नदिन घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेको जानकारी दिए। सिडिओ भुसालका अनुसार अवस्था नियन्त्रणमा लिन र शान्ति कायम गर्न दुवै पक्षबिच वार्ताको पहल भइरहेको छ। स्थानीय प्रशासनले यस्तो घटनालाई दुःखद भन्दै सबैलाई संयमता अपनाउन र शान्ति कायम गर्न अपिल गरेको छ।

























