रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा : ‘गगन र विश्वप्रकाशको आँटलाई सघाउन आएको हुँ’

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ११:५३

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका छन्। काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार मधु आचार्यको प्रचारप्रसारका लागि पाँचखाल नगरपालिकाको केराघारीमा आयोजित कार्यक्रममा उनी देखिएका हुन्।

कुनै समय रास्वपाको सुशासन र भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेका खरेलले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमा प्रश्न उठाउँदै पार्टी छाडेका थिए। कांग्रेसको कार्यक्रममा पुगेका खरेलले आफू कुनै पनि दलमा आबद्ध नरहेको र ‘स्वतन्त्र’ मतदाताको हैसियतमा आएको स्पष्ट पारे।

‘”म न्युट्रल मान्छे हुँ, कुनै पार्टीमा छैन। तर नेपाल आमाले नयाँ अनुहार खोजिरहनुभएको छ,’ खरेलले भने, ‘युवा नेताहरूको उदय भएको र स्पष्ट भिजन बोकेको कांग्रेसले देश बदल्ने अपेक्षासहित गगन थापा र विश्वप्रकाश शर्माको आँटलाई सहयोग पुर्‍याउन म यहाँ आएको हुँ।’

२०७९ को आम चुनावमा काठमाडौं–१ बाट पराजित भएका खरेल बारा–२ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए। त्यहाँ उपेन्द्र यादवसँग पराजित भएपछि उनी पार्टीको कुनै जिम्मेवारीमा थिएनन्। काभ्रेको चुनावी सभामा उनले कांग्रेस हिजोको जस्तो नरहेको र सुदृढीकरणको मार्गमा अघि बढेको दाबी गर्दै मतदातालाई कांग्रेसको पक्षमा उभिन आग्रह गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.