विराटनगरमा नमुना मतदान र निर्वाचन सुरक्षा अभ्यास

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १८:०९

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले मोरङको विराटनगरमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएकाे छ । शुक्रबार मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा निर्वाचन अभ्यास गरिएको हो ।

निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी टार्ने र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणनास्थलसम्म कसरी पुर्‍याउने भन्ने विषयलाई अभ्यासमा प्रस्तुत गरिएको थियो ।

सरकारको योजना अनुरूप यसपटकको निर्वाचनमा पनि तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)लाई तहगत रूपमा परिचालन गरिनेछ । अभ्यासका क्रममा मतदानस्थलमा हुलदंगा वा अवरोध सिर्जना भएमा सुरक्षा संयन्त्र कसरी परिचालन हुन्छ भन्ने प्रत्यक्ष देखाइएको थियो ।

नमुना अभ्यासमा देखाइएअनुसार मतदानका क्रममा कुनै समूहले होहल्ला गरे वा मतदान प्रक्रियामा अवरोध पुर्‍याउन खोजेमा पहिलो घेरामा रहेको नेपाल प्रहरीले अवरोध हटाएर स्थिति नियन्त्रणमा लिने प्रयास गर्नेछ ।

नेपाल प्रहरीको प्रयासबाट मात्र स्थिति नियन्त्रणमा नआएमा दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी बल परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि स्थिति सामान्य बन्न नसकेमा अन्तिम विकल्पका रूपमा तेस्रो घेरामा रहेको नेपाली सेनाले अग्रभागमा रहेर मोर्चा सम्हाल्नेछ ।

परिस्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएको खण्डमा सेनाले थप बल प्रयोग गर्ने र आवश्यकताअनुसार गोली चलाउनेसम्मको कारबाही गर्नसक्ने अभ्यासका क्रममा देखाइएको थियो ।

कुनै अवरोधका कारण रोकिएको मतदान प्रक्रिया सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिएर सामान्य बनाएपछि पुनः सुचारु हुने व्यवस्था मिलाइएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने सन्देश यस नमुना अभ्यासले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.