
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
निर्वाचन आयोग र नेपाल कानुन समाजले विराटनगरमा शुक्रबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई सहज र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालन गर्न आग्रह गरेका छन् ।
भण्डारीले उल्लंघन भएका ठाउँमा कडा कारबाही सुनिश्चित गर्न अनुगमनकर्तालाई सक्रिय हुन पनि अनुरोध गरेका छन् । उनले निर्वाचनमा भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्न उम्मेदवार र दलहरू सचेत गराए ।
यसपालि निर्वाचन खर्च मितव्ययी हुने बताउँदै उनले अनुमानित खर्च १ अर्बसम्म पुग्ने सम्भावना रहेको जानकारी दिए । साथै, उम्मेदवारहरूले गाउँघरमा आयोजना गर्ने वनभोज कार्यक्रममा अतिरिक्त खर्च हुने भएकाले यसमा पनि सचेत रहनुपर्नेमा जोड दिए ।
भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएका छन् । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताको पालनाबिना निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाको वातावरण तयार हुन नसक्ने स्पष्ट पारेका छन् ।
आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्न उनको निर्देशन छ । निर्वाचन आयोगमा देशभरबाट आचारसंहिता उल्लंघनका उजुरी दैनिक रूपमा बढिरहेको जानकारी पनि उनले दिए । उनका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनमा तत्कालै कारबाही गर्न जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई पूर्ण अधिकार छ ।
आचारसंहिता पालना नभएमा लय बिग्रने भएकाले देशलाई लयमा राख्न र निर्वाचनको वातावरण बनाउन सबै पक्षले निर्वाचन आचारसंहिता पालना गर्न जरुरी रहेको भण्डारीको भनाइ थियो । भदौ २३ र २४ को घटनापछि नेपाली समाज आक्रोशित र विद्रोही भएको भण्डारीले बताए ।
उनले आक्रोश र विद्रोहलाई शान्त पार्न पनि आकस्मिक रूपमा निर्वाचन गर्नुपरेको उल्लेख गरे । अहिलेको निर्वाचनले संविधान र देशलाई लयमा ल्याउने तथा संविधान जोगाउने उनको भनाइ छ । भण्डारीले निर्वाचनको सबै तयारी पूरा भइसकेकाले अब मतदान गर्ने, मतगणना गर्ने लगायतका काम मात्रै बाँकी रहेको जानकारी दिए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले निर्वाचनका लागि कोशी प्रदेशको सुरक्षा व्यवस्था सुदृढ रहेको बताए । निर्वाचन सफल पार्न सबैले उत्साहपूर्वक लाग्नुपर्ने उनको भनाइ छ । पराजुलीले मुलुकलाई राजनीतिक निकास दिन र संविधानको सफल कार्यान्वयनमा निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
मन्त्री पराजुलीले प्रदेश सरकारले स्वच्छ, शान्तिपूर्ण र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग गरिरहेको बताए । यसमा कुनै कमी हुन नदिन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्वाचनमा आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिए । उनले प्रदेश सरकार निर्वाचनलाई निष्पक्ष, भय रहित र शान्तिपूर्ण बनाउन प्रतिबद्ध रहेको बताए ।
प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले सबै दल र उम्मेदवारले आचारसंहिता पालनमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल कानुन समाजका निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाल, पूर्वकानुन सचिव फणिन्द्र गौतम र आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता, उम्मेदवार खर्च र प्रचारप्रसारसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा मोरङका सुरक्षा निकायका प्रमुख, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रमुख, अधिवक्ता, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिलगायतले निर्वाचनका लागि शान्तिपूर्ण र निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्ने साझा प्रतिबद्धता जनाएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, पारदर्शी, शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

























