
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ जय चौकमा शुक्रबार साँझ ट्याक्टरले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे हसनदह–अमरदह सडकखण्डमा ढुंगा लोड गरेर हसनदहबाट अमरदहतर्फ जाँदै गरेको को २ त ७८३८ नम्बरको ट्याक्टरले पूर्वबाट उत्तरतर्फ मोडिदै गरेको को १ ह ६१२२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक पथरीशनिश्चरे–६ का १८ वर्षीय छोरा सुदीप थापाको मृत्यु भएको हो ।
ठक्करपछि अटोबाट उछिट्टिएर सडकमा लडेका थापालाई ट्याक्टरको पछाडिको ट्रलीको चक्काले टाउकोमा किच्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार अन्य तीन जना किशोरहरू घाइते भएका छन् ।
घाइते हुनेहरूमा पथरीशनिश्चरे–६ का १५ वर्षीय अर्जुन चौधरी, १७ वर्षीय मिलन सतार र १७ वर्षीय इन्द्र हेमरन रहेका छन् । उनीहरू तीनै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि नगर अस्पताल पथरी पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टरको ट्रली सडकमै पल्टिएको थियो । ट्याक्टर चालक पथरीशनिश्चरे–५ का २८ वर्षीय राजु दर्जीलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























