
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई अन्तिम चरणतर्फ पुर्याउँदै देशभर मतपत्र तथा अन्य निर्वाचन सामग्री ढुवानी कार्यलाई तीव्र पारेको छ ।
आयोगका अनुसार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानीको काम सम्पन्न भइसकेको छ । बाँकी प्रदेशमा पनि नियमित रूपमा सामग्री पठाउने कार्य जारी छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न गरिसकेको जानकारी दिएको छ । पहिलो हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको आयोगले जनाएको छ ।
निर्वाचन सामग्री ढुवानीको कार्य माघ २९ गते कर्णाली प्रदेशबाट सुरु गरिएको थियो । त्यसपछि क्रमशः सुदूरपश्चिम र कोशी प्रदेशमा पनि मतपत्र ढुवानी सम्पन्न गरिएको आयोगको भनाइ छ । दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्र भएकाले ती प्रदेशमा समयमै सामग्री पुर्याउन प्राथमिकता दिइएको आयोग स्रोतले जनाएको छ।
बागमती लगायत अन्य प्रदेशमा पनि मतपत्र तथा अन्य निर्वाचन सामग्री ढुवानीको काम निरन्तर भइरहेको छ । आयोगले काठमाडौं उपत्यकाभित्रका मतदान केन्द्रमा समेत केही दिनभित्र आवश्यक सबै सामग्री पुर्याइने स्पष्ट पारेको छ ।
आयोगका अनुसार निर्वाचनका लागि मतपत्रबाहेक ५१ प्रकारका विभिन्न सामग्री आवश्यक पर्छन् । ती सामग्रीमध्ये अधिकांश ढुवानी सम्पन्न भइसकेको छ । मतदान केन्द्र व्यवस्थापनदेखि मतगणना प्रक्रियासम्म प्रयोग हुने सामग्रीहरू समयमै उपलब्ध गराउन आयोगले समन्वय तीव्र पारेको जनाएको छ ।
मतपत्र छपाइ कार्य आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ सुरु गरिएको थियो । सो क्रममा १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु गरी माघ १३ गतेसम्म सम्पन्न गरिएको थियो । समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको छ ।
आयोगले तोकेको समयसीमा भित्रै सबै तयारी सम्पन्न हुने दाबी गर्दै निर्वाचनलाई निष्पक्ष, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सबै प्रबन्ध मिलाइएको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा मतपत्र तथा सामग्री ढुवानीको कामलाई थप तीव्रता दिइने आयोगको भनाइ छ ।

























