
धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदानको तयारी तीव्र भएको छ ।
निर्वाचनका लागि ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला कारागार र गोकुण्डेश्वर माविमा दुई अस्थायी मतदान केन्द्र थपिएका छन् । अस्थायी केन्द्रमा समानुपातिक मतका लागि मात्र मतदान हुनेछ । जहाँ कारागारमा कैदीबन्दी र गोकुण्डेश्वर माविमा सामान्य कर्मचारी एवं सुरक्षाकर्मीले मतदान गर्नेछन् ।
प्रत्येक मतदान केन्द्रमा छ जना कर्मचारी खटाइने व्यवस्था छ । एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी कर्मचारी । यद्यपि, यसपटक धनकुटामा एउटा मतदान केन्द्र सम्पूर्ण कर्मचारी महिला मात्रै रहेका छन् ।
धनकुटा नगरपालिका–६ स्थित बहुउदेश्य सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा मतदान संचालन गर्ने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीहरूले सम्हालेका हुन् । यस केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधिकारी, सहायक कर्मचारी रिता पाण्डे, रमा ढुंगाना, अम्बिका राई र सहयोगी कर्मचारी सीता राई रहनेछन् ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामका अनुसार धनकुटा जिल्लामा कुल १ हजार २ कर्मचारी मतदानका लागि खटाइने छन् । १६६ मतदान केन्द्रमा उपसचिव, शाखा अधिकृत र छैठौं तहका अधिकृतलाई मतदान अधिकृतको रूपमा खटाइएको छ ।
सहायक मतदान अधिकृतका लागि नायब सुब्बा स्तरका कर्मचारी, सहायक कर्मचारीका लागि खरिदार स्तरका कर्मचारी र शिक्षक, तथा सहयोगी कर्मचारीका लागि कार्यालय सहयोगी खटाइएका छन् । धनकुटा जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १४ राजनीतिक दलका र ३ जना स्वतन्त्र गरी १७ जना उम्मेदवार छन् । मतदान केन्द्रमा महिला मात्रै खटाउनुले निर्वाचन प्रक्रियामा नयाँ अध्याय थप्दै महिलाहरूको नेतृत्व र सहभागीता प्रदर्शन गरेको छ ।

























