
भोजपुर । पूर्वी नेपालको भोजपुर जिल्लामा अवस्थित मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका कारण पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। अग्ला पहाडी डाँडा, हिमशृङ्खला र तराईका फाँटहरू एकैसाथ देख्न सकिने यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ।
किराँत समुदायको संस्कार र संस्कृतिसँग जोडिएको यस पदमार्गमा यात्रा गर्दा विशाल घाँसे मैदान, चौँरी तथा भेडीगोठ र स्थानीय गोठालाहरूको जीवनशैलीलाई नजिकबाट नियाल्न सकिन्छ। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पदमार्गलाई थप सहज र सुरक्षित बनाउन पूर्वाधार निर्माण र व्यवस्थापनका कार्यहरू सक्रियताका साथ अघि बढाइएको बताए। उनले पदमार्गको विस्तार कार्यलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन भइरहेका छन्। पर्यटकहरूको सहजताका लागि पदमार्ग आसपासका क्षेत्रमा खानेपानीका धारा, विश्रामस्थल र सूचना केन्द्र जस्ता संरचनाहरू निर्माण गरिएका छन्। पर्यटन सूचना केन्द्रले पर्यटकलाई भौगोलिक अवस्था, भ्रमणयोग्य स्थान र आवासका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ।
मुन्दुम पदमार्गको अर्को विशेषता यहाँ पाइने अर्गानिक परिकार र सांस्कृतिक विविधता हो। किराँत राई, शेर्पा र तामाङ समुदायको मौलिक खानाको स्वादसँगै जडीबुटी र विविध वनस्पतिको अवलोकनले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र चाम्लाङसहित दुई दर्जनभन्दा बढी हिमालहरू स्पष्ट रूपमा देख्न सकिन्छ।
किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’ को नामबाट नामकरण गरिएको यो पदमार्ग पूर्वी नेपालको प्राकृतिक र साहसिक पर्यटनको संगमस्थल बनेको छ।

























