
गौर । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै गौर नगरपालिकाका विभिन्न क्षेत्रलाई समेटेर यो आदेश जारी गरेको हो।
प्रशासनले पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको गेटसम्मको क्षेत्रमा मानिसहरूको आवतजावत र भेला हुन पूर्ण रोक लगाएको छ। कर्फ्यु उल्लंघन गर्ने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दिएका छन्।
यो तनावको सुरुवात गौर नगरपालिका–६ सवगढाबाट भएको देखिएको छ। शुक्रबार साँझ प्रशासनको मध्यस्थतामा दुई पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहानैदेखि पुनः ढुङ्गामुढा सुरु भएपछि अवस्था तनावग्रस्त बनेको हो।
अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी आफैँ फिल्डमा खटिएर स्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेका छन्।

























