
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्व र हिमाली क्षेत्र, विशेषगरी रुकुम पूर्वमा हुन सक्ने सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौतीहरूले निर्वाचन प्रक्रियामा असर पुर्याउन सक्ने बताएकी छन्।
देशका विभिन्न जिल्लामा विद्यमान स्थानीय समस्याहरू औँल्याउँदै प्रधानमन्त्री कार्कीले तराई क्षेत्रमा राजनीतिक दलहरूबीचको तीव्र प्रतिस्पर्धाले झडपको रूप लिन सक्ने आशंका गरिन्। केही स्थानमा दलका झण्डा जलाउनेजस्ता उच्छृङ्खल गतिविधि भइरहेको रिपोर्ट प्राप्त भएको उल्लेख गर्दै उनले यस्ता घटनाले निर्वाचनको समयमा तनाव बढाउने भएकाले पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन्।
निर्वाचन बहिष्कार गर्ने समूहहरूका बारेमा टिप्पणी गर्दै उनले त्यस्ता समूहको प्रभाव कमजोर रहेको दाबी गरिन्। कतिपयले निर्वाचन बहिष्कारलाई केवल पार्टीको अस्तित्व देखाउने र चन्दा असुली गर्ने माध्यम बनाएको उनको तर्क छ। व्यापार वा उद्योगको आवरणमा पार्टी चलाउने प्रवृत्ति देखिए पनि त्यस्ता गतिविधिप्रति सुरक्षा निकाय सतर्क रहनुपर्ने उनले बताइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण र निष्पक्ष बनाउनका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमको सामना गर्न निर्देशन दिएकी छन्।

























