
भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा हार निश्चित भएपछि देशमा अराजकता फैलाउन थालेको आरोप लगाएका छन्। शनिबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले रास्वपाका पछिल्ला गतिविधिहरू अभद्र, अमर्यादित र अशोभनीय भएको बताए।
उनले भने, ‘रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ, त्यसैले कतै झण्डा जलाउने त कतै अभद्र व्यवहार देखाउने काम भइरहेको छ।’ रास्वपाको प्रवृत्ति आफ्नो पक्षमा नतिजा आउँदा मात्र चुनाव स्वीकार गर्ने र नआउने देखिएपछि प्रक्रिया नै भाँड्न खोज्ने खालको रहेको उनले दाबी गरे।
ओलीले निर्वाचन भनेको बलजफ्ती गर्ने विषय नभएको स्पष्ट पारे। उनले मतदाताले कुनै पनि अवरोध र डरविना आफ्नो स्वेच्छाले मतदान गर्न पाउने शान्तिपूर्ण वातावरण हुनुपर्नेमा जोड दिए। नियम-कानुनभित्र रहेर स्वच्छ प्रतिस्पर्धा, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्ने एमालेको स्थायी मान्यता रहेको उनले बताए।
मतदानदेखि मतगणना र परिणाम घोषणासम्मका सबै प्रक्रिया पारदर्शी हुनुपर्ने भन्दै ओलीले रास्वपालाई लोकतान्त्रिक मर्यादा पालना गर्न सचेत समेत गराए।
























