
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सोचविचार गरेर मात्रै मतदान गर्न आह्वान गरेका छन्। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सामाजिक सञ्जालको भ्रम र ‘चटकदार’ अनुहारको पछि नलागी देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व एवं दल रोज्न मतदातालाई आग्रह गरे।
हालै रास्वपा छाडेका बागमती प्रदेशका निवर्तमान उपसभापति दिनेश हुमागाईंले देश गम्भीर अवस्थामा रहेकाले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मत दिनुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको र नयाँका नाममा जनता एवं युवा पुस्तामाथि धोकाधडी भइरहेको आरोप लगाए। समयमा अधिवेशन गर्न नसकेको, उम्मेदवार चयन प्रक्रिया गलत रहेको र नेतृत्वमा जवाफदेहिता नभएका कारण आफूले पार्टी छाडेको हुमागाईंको भनाइ छ।
यस्तै, रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वले सांगठनिक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको दाबी गरे। ‘थितिको थालनी र बेथितिको अन्त्य’ भन्ने नारा बोकेको पार्टी अहिले उल्टो बाटोमा हिँडेको र प्राइमरी निर्वाचनको नाममा सदस्यहरूलाई ‘स्क्याम’ गरिएको उनको आरोप छ।
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टीभित्र अपारदर्शिता बढ्दै गएको र ‘जान्नेलाई छान्ने’ नारा केवल जनता झुक्याउने माध्यम मात्र बनेको बताइन्। रास्वपा त्यागेका नेताहरूमध्ये प्रणय र ममता नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् भने हुमागाईं हालसम्म कुनै पनि दलमा आबद्ध भएका छैनन्। उनीहरूले मुलुकमा निकास र स्थायी सरकारका लागि विवेकपूर्ण निर्णय लिन सबैमा अपिल गरेका छन्।
























