
विराटनगर । नेकपा (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडाले आफ्नो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । बिहीबार उर्लाबारीस्थित एमाले निर्वाचन परिचालन कमिटीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्यकालका लागि आफ्ना योजना सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै खतिवडाले आफू भूगोल, समस्या र सम्भावनाबारे पूर्ण जानकार रहेको र अनुभवी उम्मेदवार भएकाले मतदाताले विश्वास गर्ने आधार रहेको बताए । खतिवडाको प्रतिबद्धता–पत्रमा बहुप्रतिक्षित ‘तमोर–चिसाङ डाइभर्सन’ परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने उल्लेख छ । क्षेत्रभित्रका सिँचाइ कुलो, पैनी र नहरहरूको निर्माण तथा स्तरोन्नति गरी कृषि उत्पादनमा क्रान्ति ल्याउने याेजना छ ।
कृषिलाई व्यावसायिक बनाउन पकेट क्षेत्र निर्धारण, कृषि जोन र सुपर जोन निर्माण गर्ने योजना अघि सारिएको छ ।
सबै पालिका स्तरमा पर्यटन विकासको गुरुयोजना तयार गरी प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने खतिवडाको संकल्प छ । निर्माणाधीन तथा प्रस्तावित सडक योजनाहरूलाई समयमै सम्पन्न गरी सडक सञ्जालको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।
उर्लाबारी–मंगलबारेस्थित प्रादेशिक अस्पताल ‘मदन भण्डारी ट्रमा सेन्टर’लाई प्रदेशकै नमुना अस्पतालका रूपमा स्तरोन्नति गर्ने खतिवडाको मुख्य योजना छ । शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार्न स्थानीय सरकारसँग समन्वय गर्ने तथा बालमैत्री शिक्षा र बालपोषणमा विशेष ध्यान दिने उनले उल्लेख गरेका छन् ।
युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन नवप्रवर्तन र व्यवसायमा सहुलियत कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याइने खतिवडाकाे याेजना छ ।

























