खड्ग फागोको घरदैलो अभियान : शालीन र संयमित शैली, स्थानीय मुद्दामा केन्द्रित

Share this
829shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ९, शनिबार २०:५०

उर्लाबारी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार खड्ग फागोले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन् ।

शालीन, भद्र र संयमित शैलीमा निर्वाचन लक्षित अभियान चलाइरहेका फागो स्थानीय मुद्दामा केन्द्रित भएर सक्रिय छन् । उनले घरदैलो, मतदाता भेटघाट र प्रत्यक्ष संवादलाई मुख्य प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेका हुन् ।

विशेषगरी मिक्लाजुङ गाउँपालिका–६ अन्तर्गत कसेनी, भण्डारी चोक, सुन्दरी चोक लगायतका गाउँबस्तीमा पुगेर उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरे । त्यस्तै, उर्लाबारी नगरपालिका क्षेत्रमा समेत उनको घरदैलो कार्यक्रम निरन्तर जारी छ । प्रत्येक टोल र बस्तीमा पुगेर मतदातासँग आमनेसामने संवाद गर्ने शैलीले अभियानलाई थप जीवन्त बनाएको उर्लाबारीका स्थानीय प्रदीप सुवेदीले बताए ।

उनका अनुसार घरदैलोका क्रममा फागोले मतदाताका गुनासा, समस्या तथा सुझावहरूलाई ध्यानपूर्वक सुन्ने गर्छन् । नागरिकसँगको संवादमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी सिर्जना र कृषिका विषयहरू प्रमुख रूपमा उठ्ने गरेका छन् ।

कतिपय स्थानमा मतदाताले विद्यालयमा दरबन्दी अभाव, स्वास्थ्य संस्थामा जनशक्ति र औषधिको कमी, ग्रामीण सडकको दुरावस्था तथा युवा पलायनको समस्या गम्भीर रूपमा राख्ने गरेका छन् । कृषकहरूले मल, बिउ, सिँचाइ र बजार व्यवस्थापनसम्बन्धी चुनौतीका बारेमा गुनासा राख्दै आएका छन् ।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै फागोले जनताको आवश्यकता र प्राथमिकताका आधारमा विकासका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘जनताको प्रत्यक्ष सुझावलाई नै मेरो घोषणापत्रको आधार बनाइनेछ,’ उनको भनाइ उद्धृत गर्दै सुवेदीले भने । विकासका कामहरू कागजमा मात्र सीमित नभई कार्यान्वयनमुखी हुनुपर्नेमा फागोको जोड छ ।

फागोको चुनावी अभियानमा कांग्रेसका स्थानीय नेता कार्यकर्ता, शुभचिन्तक तथा युवाहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । टोलटोलमा आयोजित भेटघाट कार्यक्रममा सहभागिता उत्साहजनक रहेको कांग्रेसले जनाएको छ ।

समर्थकहरूले उनलाई शालीन, भद्र र संयमित शैलीमा अभियान चलाउने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । प्रतिद्वन्द्वीप्रति व्यक्तिगत टिप्पणी नगरी आफ्ना एजेन्डा र योजना प्रस्तुत गर्ने तरिकाले मतदातामाझ सकारात्मक सन्देश पुगेको स्थानीय कांग्रेस नेताहरूको भनाइ छ ।

भेटघाटका क्रममा मतदाताले फागोलाई युवा, ऊर्जाशील तथा विकासप्रेमी नेताका रूपमा चित्रण गर्दै ठूलो आशा व्यक्त गरेका छन् । ‘हाम्रो क्षेत्रको समस्या बुझ्ने र समाधान गर्न सक्ने नेता चाहिएको छ । फागोले जिते केही परिवर्तन अवश्य हुन्छ भन्ने विश्वास छ,’ मिक्लाजुङ–६ का स्थानीय पारस लिम्बू भन्छन् । युवाहरूले विशेषगरी रोजगारी, सिप विकास तालिम र स्थानीय उद्योग प्रवर्धनका विषयमा स्पष्ट कार्ययोजना माग गरेका छन् ।

अभियानको शैली पनि केही फरक देखिएको छ । ठूला सभाभन्दा प्रत्यक्ष घरदैलो र सानो समूहमा संवादलाई प्राथमिकता दिइएको छ । यसले मतदातासँग निकट सम्बन्ध स्थापित गर्न सहज भएको बताइएको छ । घरदैलोका क्रममा फागोले ज्येष्ठ नागरिकसँग आशीर्वाद लिने, महिलासँग स्थानीय समस्या बुझ्ने तथा युवासँग भविष्यका सम्भावनाका बारेमा छलफल गर्ने गरेका छन् ।

कांग्रेसका अनुसार अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै विश्वास जित्ने प्रयास भइरहेको छ । स्थानीय तहदेखि संघीय स्तरसम्म विकासका काममा समन्वय आवश्यक रहेको बताउँदै फागोले क्षेत्रीय सन्तुलनका आधारमा बजेट विनियोजन र कार्यान्वयनमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उर्लाबारी क्षेत्रमा समेत घरदैलोका क्रममा फागोले व्यापारी, मजदुर, शिक्षक, कृषक तथा विभिन्न पेसामा आबद्ध नागरिकसँग भेटघाट गरेका छन् । स्थानीय बजार व्यवस्थापन, साना उद्यम प्रवर्धन र यातायात व्यवस्थापनका विषयहरू उठाइएको छ । फागोले सरोकारवाला निकायसँग समन्वय गरेर समस्याको दीर्घकालीन समाधान खोजिने बताए ।

राजनीतिक रूपमा हेर्दा मोरङ–१ मा पर्ने केराबारी, लेटाङ, मिक्लाजुङ र उर्लाबारी क्षेत्र विविध सामाजिक संरचना र आर्थिक सम्भावनाले भरिएको क्षेत्र मानिन्छ । यही कारण पनि मतदाताको अपेक्षा उच्च रहेको स्थानीय विश्लेषकहरूको भनाइ छ । यस्तो अवस्थामा उम्मेदवारहरूले ठोस योजना र स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको उनीहरुले बताए ।

फागोले भने जनताको अपेक्षालाई केन्द्रमा राखेर अभियान अघि बढाइरहेको बताए । निर्वाचन नजिकिँदै जाँदा उनले घरदैलो कार्यक्रमलाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए । विभिन्न वडा तथा बस्तीमा निरन्तर भेटघाट गर्ने र मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने कार्यक्रम तय गरिएको छ ।

मोरङ–१ मा खड्ग फागोप्रति बढ्दो आशा र चासो देखिएको लिम्बूको भनाइ छ । उनका अनुसार फागोले मतदातामाझ ऊर्जा र परिवर्तनको सन्देश दिएर अभियान चलाइरहेका छन् । घरदैलो अभियानमार्फत मतदातासँग नजिकिने फागोको राजनीतिक शैली र रणनीतिले चुनावी माहोललाई सकारात्मक बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.