विराटगनर–११ मा एमालेको र्याली र घरदैलो

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार ०७:०९

विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर जारी चुनावी अभियानअन्तर्गत नेकपा (एमाले)ले विराटनगर महानगरपालिका–११ मा र्याली र घरदैलो गरेको छ ।

विराटनगर–११ मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एमाले सक्रिय छ । अभियानअन्तर्गत र्याली, घरदैलो, मतदाता भेटघाट, प्रत्यक्ष संवादजस्ता कार्यक्रम गरिएको एमाले विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष रोहित कोइरालाले बताए ।

कोइरालाकै व्यवस्थापन र संयोजनमा कार्यक्रम गरिएको हो । उनले चुनावी कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक र मतदाताको उल्लेख्य एवं उत्साहपूर्ण उपस्थिति रहेको जानकारी दिए ।

‘हामीले मतदातालाई एमालेको देश बनाउने एजेन्डाका बारेमा प्रष्ट पारेका छौं । देशको समृद्धिका लागि एमालेले सरकारको नेतृत्व गनुपर्छ भनेर आश्वस्त पार्दै चुनावमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छौं । मुलुकको नेतृत्व र क्षेत्रगत विकासका लागि एमालेको जितको विकल्प छैन,’ कोइरालाले भने । उनले घरदैलो र प्रत्यक्ष संवादमा उम्मेदवार उपस्थित हुन नसकिरहेको विषयमा पनि मतदातालाई प्रष्ट पारिएको जानकारी दिए ।

मोरङ–६ मा एमालेबाट उम्मेदवार रहेका विनोद ढकाल पितृ शोकमा छन् । उनी धार्मिक संस्कार अनुसार बुवाको किरिया बारेर कोरामा बसिरहँदा पार्टी कमिटी तथा नेता कार्यकर्ताले चुनावी अभियानलाई जारी राखेका छन् । ढकाल उपस्थित हुन नसके पनि चुनावी अभियानलाई प्रभावकारी ढंगले अघि बढाइएको जानकारी कोइरालाले दिए ।

उनका अनुसार शनिबार विराटनगर–११ को पिचरास्थित सम्पर्क कार्यालयबाट सुरु भएको र्याली जनपथ टोल, नयाँ गुद्री, बसपार्क, महेन्द्र चोक, केसलिया रोड, चिउरा मिल, दुर्गा मन्दिर, पञ्चमुखी चोक हुँदै संगम पार्टी प्यालेसमा पुगेर सम्पन्न भएको छ । र्यालीपछिको कोणसभालाई एमालेका पूर्वकेन्द्रीय उपाध्यक्ष गुरु बराल र केन्द्रीय सदस्य पर्शुराम बस्नेतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेताहरुले एमालेविरुद्ध अनेक भ्रम फैलाउने काम भइरहेकाले त्यसका पछि नलाग्न आम मतदातालाई आग्रह गरेका छन् । देश बनाउन नचाहने र मुलुकलाई तहसनहस बनाउन खोज्ने अराजक एवं अपराधिक तत्व राष्ट्रवादी पार्टी एमालेविरुद्ध खनिएको उनीहरुको भनाइ छ ।

कुनै पनि भ्रममा नपरिकन आगामी चुनावमा एमालेका उम्मेदवारलाई जिताउन नेताहरुले मतदातासमक्ष अपिल गरेका छन् । ‘एमालेलाई जिताउँदा क्षेत्रगत विकास हुन्छ । देशमा समृद्धि आउँछ । मुलुकको मुहार फेरिन्छ । देशको विकास र समृद्धिका लागि पनि एमालेलाई जिताउन आवश्यक छ,’ नेताहरुले भने ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.