
काठमाडौं । आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेताहरुको संख्या बढ्न थालेको छ ।
नेता कार्यकर्ताले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै धमाधम पार्टी छाडिरहेका छन् । विशेष गरेर रास्वपामा बढ्दो आर्थिक अनियमितता तथा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह (बालेन्द्र)बीचको समन्वय अभाव एवं गलत शैलीलाई कारण बनाउँदै रास्वपा छाड्ने क्रम बढेपछि पार्टीभित्र तीव्र असन्तुष्टि र चरम निराशा रहेको कुरा सतहमा आएको छ ।
पछिल्लो पटक पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीमै सक्रिय भूमिकामा रहेका दिनेश आचार्यले औपचारिक रूपमा पार्टी परित्याग गरेका छन् । आचार्य पार्टीको केन्द्रीय वित्त (मौद्रिक एवं पुँजीबजारं विभागका सदस्यसमेत थिए ।
निर्वाचन नजिकिँदै गर्दा परिचालन रणनीति, स्रोत व्यवस्थापन र आर्थिक पक्षको समन्वयमा संलग्न नेताले नै पार्टी छाड्नुले नेतृत्व तहमा समन्वय अभाव रहेको संकेत गरेको छ । विशेषगरी निर्वाचन परिचालन कमिटीमा रहेर प्रत्यक्ष रूपमा अभियानको तयारीमा जुटिरहेका नेताले जिम्मेवारीकै बीचमा अलग हुने निर्णय लिनु अर्थपूर्ण मानिएको छ ।
पार्टी स्रोतका अनुसार आचार्य केही समयदेखि संगठन सञ्चालन शैली, निर्णय प्रक्रियामा पारदर्शिता र वित्तीय विषयमा अपनाइएका प्राथमिकताका बारेमा असन्तुष्ट थिए । यद्यपि, आचार्यले आफ्नो व्यक्तिगत निर्णयका आधारमा पार्टी छाडेको बताएका छन् ।
रास्वपा गठनयता आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको छ । छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यो दलले युवामुखी नेतृत्व, पारदर्शिता र संस्थागत सुधारको एजेन्डा अघि सारेको थियो । तर, पछिल्लो समय विभिन्न तहका नेताहरू बाहिरिनु, आर्थिक अनियमितताको आरोप लाग्न थाल्नु, आन्तरिक मतभेद सार्वजनिक हुनु र जिम्मेवार पदमा रहेकाहरू नै अलग हुने क्रम बढ्नुले संगठनात्मक स्थायित्वमाथि प्रश्न उठाइरहेको छ ।
निर्वाचन परिचालन कमिटी कुनै पनि दलका लागि रणनीतिक संरचना मानिन्छ । उम्मेदवार चयनदेखि प्रचारप्रसारको ढाँचा, क्षेत्रीय समन्वय, आर्थिक परिचालन र स्वयंसेवक व्यवस्थापनसम्मका विषय यही संयन्त्रले सम्हाल्छ । यस्तो महत्वपूर्ण संरचनामा रहेकै नेता बाहिरिनु निर्वाचन तयारीमा प्रत्यक्ष असर पार्ने विषय हो । रास्वपाले भने यसलाई सामान्य आन्तरिक प्रक्रिया भन्दै संगठन मजबुत नै रहेको दाबी गरेको छ ।
आचार्य वित्तीय पृष्ठभूमि र पुँजीबजार सम्बन्धी विषयमा सक्रिय रहँदै आएका नेता हुन् । पार्टीको आर्थिक नीतिगत धारणा निर्माणमा उनको भूमिका रहेको बताइन्छ । यसकारण पनि उनको बहिर्गमनलाई साधारण घटनाको रूपमा मात्रै लिन नमिल्ने विश्लेषकहरूको धारणा छ । निर्वाचन नजिकिँदै गर्दा आर्थिक स्रोत परिचालन र रणनीतिक समन्वयमा खलल पुग्न सक्ने आकलन गरिएको छ ।
पछिल्ला केही महिनायता रास्वपाबाट विभिन्न तहका नेताहरु बाहिरिने क्रम जारी छ । कतिपयले व्यक्तिगत कारण देखाएका छन् भने कतिपयले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको र आर्थिक अनियमितता बढेको आरोप लगाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दल विस्तारको चरणमा हुँदा आन्तरिक मतभेद देखिनु अस्वाभाविक होइन । तर, निर्वाचनको ठीक अगाडि जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरू अलग हुन थाले भने त्यसले सन्देश राम्रो दिँदैन । मतदातामाझ स्थायित्व, स्पष्टता र एकताबद्ध सन्देश आवश्यक पर्ने समयमा यस्तो घटनाले दबाब सिर्जना गरेको छ ।

























