
सर्लाही। सर्लाहीमा एक प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारमाथि हातपातको प्रयास र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका-१२ का ३२ वर्षीय प्रशान्त वाइबा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन ६ गते बेलुका बागमती-१२ स्थित आनन्द होटलमा खाजा खान गएका जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जयप्रकाश यादवमाथि वाइबाले दुर्व्यवहार गरेका थिए। सर्लाही क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार यादवलाई वाइबाले गालीगलौज गर्दै हातपातको समेत प्रयास गरेको प्रहरीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले पक्राउ परेका वाइबामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। आरोपितलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। निर्वाचनको समयमा उम्मेदवारको सुरक्षालाई लिएर स्थानीय प्रशासनले सतर्कता बढाएको छ।

























