
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा निकै विचार पुर्याउनुपर्ने बताए।
लिङ्देनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादक पदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे। यस्तो प्रवृत्तिले देशलाई सहि दिशा नदिने बताउँदै उनले अहिलेको निर्वाचन विशेष अवस्थामा आएकाले हजारचोटि सोचेर मात्र मतदान गर्न अपिल गरे। उनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औँल्याउँदै निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने तर्क गरे।
राप्रपालाई संसद्मा बलियो शक्तिको रूपमा पुर्याउन सहयोग माग्दै लिङ्देनले भ्रष्टाचारमुक्त ढङ्गले काम गरे ५-६ वर्षभित्रै देशको मुहार फेरिने दाबी गरे। आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्ड छानबिनमा आफ्नो भूमिका रहेको स्मरण गराए। उनले भने, ‘भोट भनेको आफ्नो शक्ति हस्तान्तरण गर्ने कुरा हो, त्यसैले कसलाई दिइराखेको छु भन्ने कुरा हरेक मतदाताले सोच्नुपर्छ।’
उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई समेत यसपटक देश बचाउने अभियानमा सहभागी हुन र राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आग्रह गरे। राष्ट्रिय सहमति कायम गरेर निर्वाचनमा जाँदा कसैले विद्रोह वा आन्दोलन गर्नु नपर्ने उनको सुझाव थियो।
























