
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ। कट्टेलका छोरा रुपेश कट्टेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो।
अदालतले कट्टेललाई किन र कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट पार्दै लिखित जवाफसहित बन्दीलाई अदालतमा पेश गर्न गृह मन्त्रालय लगायतका विपक्षीलाई निर्देशन दिएको छ।
निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोप लगाउँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई गत फागुन ६ गते कीर्तिपुरबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले सोही सिलसिलामा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई समेत पक्राउ गरी हिरासतमा राखेको छ।
यसअघि दुर्गा प्रसाईंको हकमा परेको यस्तै प्रकृतिको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले गत शुक्रबार नै बन्दीसहित उपस्थित हुन आदेश दिइसकेको छ।

























