
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ स्थित फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीय हेमचन्द्र आचार्यको घरमा लागेको आगोले घरभित्र रहेका लत्ताकपडा र सम्पूर्ण सरसामान खरानी बनाएको प्रहरीले जनाएको छ।
आगलागीको जानकारी पाएलगत्तै भोजपुरको जरायोटार र धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। धनकुटा र भोजपुरको सिमाना अरुण नदी नजिकै रहेको उक्त बजारमा आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असई द्रोण खत्रीले जानकारी दिए।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनामा कुनै मानवीय क्षति नभए पनि घर र धनमालको ठुलो क्षति भएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

























