कांग्रेस २.० का उम्मेदवार खड्ग फागो : ‘स्थानीय तहकाे काम देखाएर खाेज्दैछन् काठमाडाैं जाने बाटाे’

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १९:०१

उर्लाबारी । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्ग फागो घरदैलो अभियानमा व्यस्त छन् । उर्लाबारी नगरपालिकाको सफल मेयरका रूपमा पहिचान बनाएका फागो अहिले राष्ट्रिय राजनीतिमार्फत आफ्नो क्षेत्रको मुहार फेर्ने योजनासहित मतदाताको आँगनमा पुगिरहेका हुन् ।

चुनावी अभियानका क्रममा फागोले मतदाताको गुनासो सुन्ने र त्यसलाई नीतिगत रूपमा समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसकाे नयाँ नेतृत्वले उम्मेदवार बनाएपछि उनी जनताको मुद्दा लिएर संघीय संसद काठमाडौं जान  खोज्दैछन् ।

चुनावी घरदैलोका क्रममा फागोले यस पटक मतदाताहरूमा अभूतपूर्व सचेतना आएको पाएका छन् । विगतका आश्वासन र राजनीतिक उतारचढावलाई नजिकबाट नियालेका मतदाताहरू अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको भविष्य खोजिरहेको उनको अनुभव छ । ‘अहिले मतदाताहरू भन्दै हुनुहुन्छ यो मत होइन, हामी राष्ट्रका लागि ‘दान’ गर्दैछौँ,’ मुलुकीखबरसँग फागोले भने,’२०४६ सालदेखि अहिलेसम्म धेरै पटक आश्वासन दिइयो, तर अब जनता ‘अवेयर’ भइसक्नुभएको छ । उहाँहरूको यो चेतले मलाई थप जिम्मेवार बनाएको छ ।’

नयाँ पुस्ता र कांग्रेसको सुधार

अहिलेको राजनीतिमा युवा र नयाँ दलको लहरलाई फागोले एक ‘न्यारेटिभ’ र ‘भ्रम’को संज्ञा दिएका छन् । तर, उनले पुरानो दल भए पनि कांग्रेसले आफूलाई समयानुकूल परिवर्तन गरिरहेको दाबी गरे । १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहारलाई टिकट दिएको र त्यसमा ४० प्रतिशत युवा सहभागिता रहेको उल्लेख गर्दै उनले कांग्रेसले नीति, नेतृत्व र नैतिकतामा सुधार गरिरहेको बताए ।

उर्लाबारीको मेयर हुँदा प्राप्त गरेको अनुभवलाई फागोले आफ्नो सबैभन्दा ठूलो शक्ति मानेका छन् । स्थानीय तहमा काम गर्दा कतिपय ऐन-कानुनहरू नै विकास र गरिबको हितमा बाधक रहेको उनले महसुस गरे। ‘अहिलेको स्वास्थ्य बिमा १ लाखको मात्र छ, तर उपचार खर्च ५ लाख पुग्छ,’उनले भने, ‘यस्ता जनविरोधी नीतिहरू बदल्न र राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन मेरो संसदको यात्रा केन्द्रित हुनेछ।’

विकासका मुख्य एजेण्डाहरू

मोरङ क्षेत्र नम्बर १ को भूगोललाई सम्भावनाको खानी देख्ने फागोका मुख्य प्राथमिकता यी हुन् :
१, पूर्वाधार विकास: क्षेत्रका अधुरा सडक र पूर्वाधारका योजनाहरू पूरा गर्ने ।
२, पर्यटन: यस क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने ।
३, शिक्षा र स्वास्थ्य: सरकारी विद्यालय र स्वास्थ्य संस्थामा आमूल सुधार ल्याई गुणस्तरीय सेवा सुनिश्चित गर्ने ।
४,नीतिगत सुधार: स्थानीय जनताको आवाजलाई राष्ट्रिय नीति निर्माणमा बुलन्द पार्ने ।

प्रतिस्पर्धा विकासका बाधकहरूसँग

आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति वा विशेष पार्टीको उम्मेदवारसँग नभएको फागोको तर्क छ। ‘म विज्ञान र प्रविधिको युगमा विश्वास गर्छु। मेरो प्रतिस्पर्धा यो क्षेत्रको पिछडिएको अवस्था र विकासका बाधकहरूसँग हो,’ उनले स्पष्ट पारे । फागोले सम्पूर्ण मतदातालाई आफ्नो मतलाई ‘पवित्र दान’सम्झिएर रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । उनले मतदाताको विश्वासलाई कहिल्यै टुट्न नदिने र सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

के हाे ‘कांग्रेस २.०’  ?

कांग्रेसको विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वले आएपछि कांग्रेसलाई ‘कांग्रेस २.०’ हो नाम दिइएको छ । यो नेपाली कांग्रेसभित्रको एउटा नवीन अवधारणा हो, जसले पार्टीको परम्परागत कार्यशैलीलाई आधुनिक, प्रविधिमैत्री र युवामुखी बनाउने लक्ष्य राख्छ । बदलिँदो राजनीतिक परिवेश, नयाँ मतदाताको मनोविज्ञान र विश्वव्यापी लोकतन्त्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्न यो अवधारणा अगाडि सारिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.