भौतिक चुनाव चिह्न प्रयोगमा रोक, रास्वपाले ‘घण्टी’ बजाएर प्रचार गर्न नपाउने

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार ०६:२८

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग चुनाव प्रचारको शैलीमा कडाइ गरेको छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको हो ।

आयोगका अनुसार केही दल र उम्मेदवारले धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिह्न बोकी हिँड्ने तथा सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरेकोबारे गुनासो प्राप्त भएको थियो । यस्ता सामग्रीले सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने निष्कर्षसहित आयोगले भौतिक चिह्न प्रयोग नगर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड ९ (ड)मा तोकिएको मापदण्डअनुसार मात्र दलको झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ । कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको चिह्न भने प्रयोग गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

मापदण्डविपरीत भौतिक सामग्री प्रयोग गरेको पाइएमा आचारसंहिताविपरीत कारबाही हुने चेतावनी पनि दिइएको छ । यस निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनाव चिह्न ‘घण्टी’ बजाउँदै भोट माग्न नपाउने भएको छ ।

यसअघि रास्वपाका उम्मेदवारहरूले प्रचारका क्रममा प्रतीकात्मक रूपमा घण्टी बजाउने अभ्यास गरेका थिए । आयोगको पछिल्लो निर्देशनपछि यस्तो शैली रोकिने छ । नरोकिए कारबाही हुन्छ ।

निर्वाचनलाई लक्षित गर्दै आयोगले सबै दल र उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । चुनावलाई स्वच्छ, मर्यादित र सुरक्षित बनाउन कडाइ गरिएको आयोगको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.