
धादिङ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
धादिङ प्रहरी प्रमुख एसपी सुमित खड्काले दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार मृतकमध्ये ६ जना महिला र ३ जना विदेशी नागरिक रहेका छन् ।
ग १ ख १४२१ नम्बरको बस सोमबार बिहानका राति करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । रातको समयमा भएको दुर्घटनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालकसहित ४६ जना यात्रु सवार रहेको प्रारम्भिक विवराण् छ दुर्घटनापछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ । हालसम्म मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ । घाइतेहरूलाई नजिकका अस्पताल र काठमाडौंमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । बस तीव्र गतिमा रहेको थियो वा ब्रेक फेलजस्ता प्राविधिक समस्या आएको थियो भन्ने विषयमा यकिन भइसकेको छैन ।

























