मोरङ ५ : विकासको मोडेल बोकेर योगेन्द्र मण्डलको घरदैलो

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १२:०२

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बनेको छ । यस क्षेत्रका निवर्तमान सांसद तथा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’का अध्यक्ष योगेन्द्र मण्डल आफ्नो निर्वाचन क्षेत्रका टोलटोल र बस्तीबस्तीमा पुगिरहेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा छन् ।

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका मण्डल यसपटक आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरेर विकासको एजेन्डासहित मतदाताको घरदैलोमा छन् । मण्डलको यो अभियान भोट माग्नमा मात्र सीमित छैन । उनी आफूले २ वर्ष ८ महिनाको छोटो कार्यकालमा गरेका कामको फेहरिस्त र बाँकी रहेका योजनाहरूको खाका लिएर जनताको बीचमा गएका छन् । संसद विघटनका कारण आफूले सुरु गरेका धेरै महत्वपूर्ण कामहरू बीचैमा रोकिएको भन्दै उनले ती अधुरा योजनाहरूलाई पूर्णता दिन अवसर मागिरहेका छन् ।

विद्यालयमा अंग्रेजी माध्यम र ‘पढ्दै, कमाउँदै’ कार्यक्रम

मण्डल आफ्नो छोटो कार्यकाल शिक्षा क्षेत्रमा उल्लेख्य सुधारको प्रयास गरेको बताउँछन् । क्षेत्र नम्बर ५ का ८५ वटा सामुदायिक विद्यालयमध्ये ४० वटा विद्यालयमा उनकै पहलमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ ।

‘मेरो मुख्य उद्देश्य भनेको धनी र गरिबका छोराछोरीबीचको शैक्षिक खाडललाई सधैँका लागि अन्त्य गर्नु हो । जबसम्म सरकारी विद्यालयमा निजी सरहको गुणस्तरीय शिक्षा हुँदैन । तबसम्म समाजमा समानता आउँदैन,’ आफ्नो शिक्षा योजनाबारे मण्डल भन्छन्, ‘हामीले ४० वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरिसक्यौं । अबको ५ वर्षभित्र क्षेत्रका सबै विद्यालयलाई प्रविधिमैत्री र अंग्रेजी माध्यमको बनाउने मेरो संकल्प छ।’

उनकै पहलमा चार वटा विद्यालयमा ‘पढ्दै, कमाउँदै’ कार्यक्रम पनि सञ्चालनमा छन् । यसले विद्यार्थीलाई सिपसँग जोडेको छ । पढ्दै कमाउँदै कार्यक्रम विस्तार गर्ने उनको योजना छ ।

स्वास्थ्यमा सेवाभाव : नाफारहित अस्पताल

स्वास्थ्य क्षेत्रमा मण्डलले गरेको कामको चर्चा देशभरि छ । कटहरी गाउँपालिका–२ हल्दिबारीमा उनकै सक्रियतामा दुई सय बेडको जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । यो अस्पताल कुनै व्यापारी वा नाफा कमाउने समूहको नभई समुदायकै हितका लागि खोलिएको उनको दाबी छ । सामुदायिक पहलमा स्थापना भएको यो अस्पताल नेपालकै ठूलो अस्पताल हो ।

‘स्वास्थ्य सेवा व्यापार हुनु हुँदैन । हामीले स्थापना गरेको अस्पतालले मुनाफा वितरण गर्दैन,’ उनले भने, ‘गरिबले पैसाकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास हो ।’ अस्पतालमा यस क्षेत्रका बासिन्दाले उपचार शुल्कमा ४० प्रतिशत छुट पाउँछन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले निशुल्क उपचार पाउँछन् । गत जेठबाट सुरू भएको अस्पतालबाट सयौंले निशुल्क उपचार पाइसकेका छन् ।

आर्थिक सशक्तीकरण : एक लाख महिलालाई स्वरोजगार

योगेन्द्र मण्डलले राजनीतिमा आउनुअघि नै जीवन विकास समाजमार्फत सामाजिक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका थिए । २५ वर्ष सामाजिक क्षेत्रमा काम गरेका उनको सक्रियतामा सुरू भएको जीवन विकास लघुवित्तमार्फत तीन लाख १७ हजारभन्दा बढी महिलाहरू आर्थिक कारोबारमा जोडिएका छन् ।

मण्डल भने अहिले लघुवित्तमा छैनन् । तर, उनकै पहलमा सुरू भएको लघुवित्तमार्फत एक लाख महिलाहरू स्वरोजगार भएका छन् । ६० हजारभन्दा बढी महिला उद्यमी बनेर आफ्नो परिवार चलाइरहेका छन् ।

दुई वर्षमा चार सयलाई रोजगारी

उनले आफ्नो २ वर्ष ८ महिनाको अवधिमा चास सय जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् । मण्डलकै पहलमा कटहरी गाउँपालिका–२ हल्दीबारीमा स्थापना भएको अस्पतालमा मात्रै दुई सय जनाले रोजगारी पाएका छन् ।

अन्य क्षेत्रमा मण्डलले थप दुई सय जनालाई रोजगारी दिलाएका हुन् । मण्डलले सुरु गरेको जीवन विकास समाजमार्फत सञ्चालन भएको विभिन्न संस्थाहरुमा दुई हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अधुरा योजना र जनताको विश्वास

दशकौंदेखि नागरिकताबाट वञ्चित नागरिकहरूलाई अधिकार दिलाउन मण्डलले सदनदेखि सडकसम्म खेलेको भूमिकालाई स्थानीयले बिर्सेका छैनन् । तर, संसदको कार्यकाल पूरा हुन नपाउँदा धेरै पूर्वाधारका कामहरू बीचैमा रोकिएकोमा उनी बताउँछन् ।

‘मतदातासँग उठाएका र गरेका प्रतिवद्धता पुरा गर्ने अभियान सुरु गरिसकेको थिए । जनताको सवाल संसदमा उठाउन कहिल्यै पछि परिन । योजना अनुसार काम गर्दागर्दै संसद विघटन भयो,’ उनले भने ।

मतदाताको प्रतिक्रिया : काम गर्नेलाई मौका

मण्डलको काम गर्ने शैलीबाट प्रभावित मतदाताहरू यसपटक उनलाई जिताउन उत्साहित देखिएका छन् । जहदा गाउँपालिका–२ का स्थानीय मतदाता मनोज मण्डल भन्छन्, ‘योगेन्द्र मण्डलले हाम्रो क्षेत्रमा शिक्षा र स्वास्थ्यमा जुन काम गर्नुभयो । त्यो पहिले कसैले गरेको थिएन । कार्यकाल पूरा भएको भए अझै धेरै काम हुन्थ्यो । काम हेर्नका लागि पनि उहाँलाई यसपटक मौका दिनुपर्छ ।’

अर्का स्थानीय रामेश्वर महतो पनि मण्डलको पक्षमा उभिएका छन् । ‘उहाँले बोलेर भन्दा पनि गरेर देखाउनुभएको छ । जहदा र कटहरीका ग्रामीण भेगका बासिन्दाले पनि अहिले आधुनिक स्वास्थ्य सेवा र राम्रो शिक्षा पाइरहेका छन्,’ उनले भने ।

स्वतन्त्रबाट पार्टीको नेतृत्वमा पुगेका योगेन्द्र मण्डलको यो चुनावी यात्रा मोरङ ५ का लागि एउटा निर्वाचन मात्र नभई विकासको मोडेलको परीक्षण पनि बनेको छ । क्षेत्र नम्बर ५ का मतदाताले गर्ने उनको काम र प्रतिबद्धताको मूल्यांकनका लागि आगामी फागुन २१ गते नै पर्खिनुपर्ने छ । तर, पछिल्लो विकसित राजनीतिक परिस्थितिले मण्डलको पल्ला भारी रहेको विश्लेषण भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.