
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच सोमबार बिहान झडप भएको छ। राँगाको मासु प्रशोधन गर्ने यस उद्योगमा मजदुरहरूबीच आपसी विवाद बढ्दै जाँदा भएको कुटाकुटमा ५ चिनियाँ र २ नेपाली कामदार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। सोही विवादले उग्र रूप लिँदा दुवै पक्षबीच झडप भएको हो।
झडपमा नेपाली कामदार नवराज बम्जन र गोकर्ण कटुवाल घाइते भएका छन्। बम्जनको आँखा र खुट्टामा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। उदयपुरका कटारी–१२ का २२ वर्षीय कटुवालको टाउकोमा चोट लागेको छ।
त्यस्तै, घाइते हुने चिनियाँ नागरिकहरूमा ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी रहेका छन्। उनीहरूको टाउको, मुख, छाती र हातमा चोट लागेको छ। घाइते चिनियाँ कामदारहरूको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ।
घटनापछि केही समय कम्पनी परिसर तनावपूर्ण बने पनि अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।

























