
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै महासंघले उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भएको बताएको छ।
फागुन ६ गते धनगढीको चुनावी सभामा बालेनले निर्माण कार्यमा हुने ढिलाइप्रति टिप्पणी गर्दै ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि बाटो बन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। महासंघले यस्तो टिप्पणीले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मनोबल गिराउने काम गरेको ठहर गर्दै सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको छ। पूर्वाधार क्षेत्रले २५ लाखभन्दा बढीलाई रोजगारी दिएको स्मरण गराउँदै महासंघले निर्वाचन आयोगलाई पनि यस विषयमा गम्भीर हुन आग्रह गरेको छ।
महासंघका अनुसार वि.सं. २०७३/७४ पछि सुरु भएका करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख आयोजनामध्ये हाल ३० हजारभन्दा बढी अलपत्र अवस्थामा छन्। अव्यवहारिक नीति–नियम, कानुनी जटिलता र बजेट अभावका कारण मेलम्ची, नागढुंगा सुरुङ मार्ग र फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलाइ भइरहेको महासंघको दाबी छ।
निर्माण उद्योगको सुधारका लागि महासंघले ९ बुँदे माग समेत अघि सारेको छ। जसमा निर्माण क्षेत्रका लागि एकीकृत ‘छाता ऐन’ निर्माण, कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्चमा विनियोजन, १५ प्रतिशतभन्दा बढी ‘लो बिडिङ’ रोक्ने व्यवस्था र उपभोक्ता समितिबाट हुने कामको सीमा १० लाख रुपैयाँमा सीमित गर्नुपर्ने मागहरू रहेका छन्।
महासंघले निर्माण उद्योगमैत्री नीति र कानुनी सुधारका लागि सबै राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै निर्माण क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ।

























