
काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सहभागी नहुन अन्तिम चेतावनी दिएको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै केही शिक्षक र कर्मचारीहरू आचारसंहिता विपरीत चुनावी अभियानमा सक्रिय रहेको उजुरी प्राप्त भएको बताए।
निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (क) अनुसार विद्यालय वा विश्वविद्यालयका कर्मचारी र शिक्षकहरू कुनै पनि दलको पक्ष वा विपक्षमा लाग्न पाउँदैनन्।
शिक्षा ऐन २०२८ को दफा १६ङ को उपदफा (५) ले त झन् राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदबाटै हटाउनेसम्मको कडा व्यवस्था गरेको छ। आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न आफ्ना कर्मचारीहरूलाई तटस्थ रहन निर्देशन दिएको छ।
प्रवक्ता भट्टराईले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई दफा ४८ बमोजिम कारबाही गरिने चेतावनी दिएका छन्। आयोगले सबै शैक्षिक जनशक्तिलाई आफ्नो पदको मर्यादा र कानुनी दायित्व बुझेर निर्वाचन प्रचारप्रसारबाट टाढै रहन सचेत गराएको छ।

























