
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढिरहेका बेला नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
कांग्रेसका महामन्त्रीसमेत रहेका घिमिरेले सोमबार बेलुका विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, भौतिक पूर्वाधार, धार्मिक पर्यटन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो चुनावी योजना सार्वजनिक गरेका हुन् । ग्रामथान गाउँपालिका–६ का स्थानीय घिमिरेले आफू दीर्घकालीन सोच र स्पष्ट कार्यदिशासहित मतदातामाझ गइरहेको बताए ।
२०७२ सालमा संविधान जारी गर्ने ऐतिहासिक प्रक्रियामा पार्टीको नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले समयानुकूल नीतिगत परिवर्तन र विकासमुखी कार्यक्रममार्फत क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता जनाए । उनको प्रतिबद्धता पत्रमा विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्रमा राख्दै त्यस क्षेत्रलाई खेलकुद ग्रामका रूपमा विकास गर्ने योजना समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने पूर्वाधार, खेलाडी प्रशिक्षण केन्द्र तथा बहुउद्देश्यीय खेलमैदान निर्माण गरी क्षेत्रलाई खेलकुदको प्रमुख केन्द्र बनाउने लक्ष्य उनले अघि सारेका छन् । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै घिमिरेले क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने विराटनगर महानगरपालिका–१, २, ३, ८, १० र १९, कटहरी गाउँपालिका–१ देखि ७, ग्रामथान गाउँपालिका–१ देखि ७ तथा बेलबारी नगरपालिका–५, ६ र ७ का सामुदायिक तथा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालय सञ्चालन, डिजिटल शिक्षण सामग्रीको प्रयोग र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जोड दिने उनले बताए । कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ पूर्वाधारलाई मजबुत बनाउने योजना पनि उनको प्राथमिकतामा परेको छ ।
मोरङ–सुनसरी सिँचाइ आयोजना अन्तर्गत मूल नहरको मार्गमा सुनसरीको खनारदेखि मोरङको केरौनसम्म आवश्यक स्थानमा पक्की पुल निर्माण गरिने उनले बताए । यसबाट कृषकलाई उत्पादन बजारसम्म पुर्याउन सहज हुने र स्थानीय आवागमनमा सुधार आउने विश्वास व्यक्त गरिएको छ ।
सिँचाइ सुविधा नपुगेका क्षेत्रमा गहिरो बोरिङसहित वैकल्पिक सिँचाइ कार्यक्रम सञ्चालन गरी आधुनिक खेती प्रणाली प्रवर्द्धन गरिने योजना पनि उनले सार्वजनिक गरेका छन् । कृषकलाई आवश्यक रासायनिक मल र उन्नत बीउ बिजन सहज रूपमा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कटहरी गाउँपालिकास्थित लोहन्द्रा खोलामा पक्की पुल तथा तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । बाढीबाट हुने क्षति न्यूनीकरण गर्दै बस्तीको सुरक्षाका लागि दीर्घकालीन संरचना निर्माण गरिने उनले बताए । भूमिहीन नागरिकका लागि व्यवस्थित बसोबासको ठोस पहल गरिने उल्लेख गर्दै आवास समस्यालाई समाधानतर्फ उन्मुख गराउने योजना पनि अघि सारिएको छ ।
ग्रामथान–५ मा रहेको सरियाधामी थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्दै त्यस क्षेत्रलाई संग्राहलय तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । स्थानीय संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षणसँगै भौतिक पूर्वाधार विस्तार गरिने उनले बताएका छन् ।
बेलबारी नगरपालिका–५ कसेनीस्थित धनपालगढी तथा कटहरी थालाहामा पर्ने बाबा बनस्खण्डी मन्दिर क्षेत्रलाई गुरुयोजनासहित धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य उनको छ । धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवातर्फ बेलबारी–७ बाहुनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालालाई थप व्यवस्थित बनाउँदै विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने उल्लेख गरिएको छ । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई बिरामीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २ सय ५५ मतदाता छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिबद्धता पत्र कागजी घोषणा मात्र नभई कार्यान्वयनयोग्य योजना भएको दाबी गर्दै क्षेत्र नम्बर ४ लाई शिक्षा, कृषि, खेलकुद र पर्यटनको सन्तुलित विकास मोडेलका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याए ।
चुनावी प्रतिस्पर्धा चर्किंदै गएको अवस्थामा सार्वजनिक गरिएको यो ३९ बुँदे प्रतिबद्धता पत्रले मतदातामाझ कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढेको छ । घिमिरेले अघि सारेका योजनाले पूर्वाधार विस्तार, सामाजिक समावेशिता र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेको छ ।
























