
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका विनोद ढकाल पितृशोकको १३ दिने काम सकेर मंगलबारदेखि पुनः चुनावी अभियानमा निस्किएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सेतै वस्त्र लगाएर ढकाल पुनः मतदाताको बीचमा फर्किएका हुन् । १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि कोरामा बसेका उनी संस्कार र धार्मिक विधि अनुसारको काम सकिएको भोलिपल्टै सेतो कपडामा चुनावी दौडधुपमा सक्रिय भएका हुन् ।
आफ्नो चुनावी अभियानलाई तीव्र पारिरहेका बेला माघ २९ गते बुवाको निधन भएपछि ढकाल सार्वजनिक कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । कोरामै बसेर उनले चुनावी तयारीलाई निरन्तरता दिएका थिए । फागुन ३ गते क्षेत्रगत विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका उनले मतदातालाई भावुक पत्रसमेत पठाएका थिए । ‘शरीर घरमै भए पनि मन तपाईं (मतदाता)हरुसँगै छ,’ भन्ने सन्देशमार्फत उनले आफू प्रत्यक्ष उपस्थित हुन नसकेको अवस्था र बाध्यताका बारेमा मतदातालाई जानकारी गराएका हुन् ।

उनका बुवाको १३ दिने किरिया सोमबार सकिएको छ । बर्खान्त बारेका उनले भोलिपल्टै अभियानमा होमिएर मंगलबार एकैदिन विराटनगर महानगरपालिका–४, ५, ६ र ११ का १७ स्थानमा कार्यक्रम तय गरेका छन् । आइतबारे, जामुनगाछी, पुलचोक, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा चोक, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, दावाबन्दी लगायतका स्थानमा कोणसभा, घरदैलो र मतदाता भेटघाटका कार्यक्रम तीव्र रुपमा चलाएका छन् ।
बिहानैदेखि सक्रिय ढकालले निर्धारित कार्यक्रमहरु भ्याइरहेका छन् । दुई साता अलिनो (नुन बिनाको) खाना खाएर कोरामा बसेका ढकाल अहिले चुनावी धपेडीमा छन् । सेतो कपडामै कार्यक्रममा सहभागी भइरहेका उनले जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । विराटनगरको कोचाखालमा मंगलबार बिहान आयोजित कार्यक्रममा उनले अब आफू मतदाताको बीचमै रहेर चुनावी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
ढकालले आफू चार दशकभन्दा बढी समयदेखि यस क्षेत्रको जनजीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै स्थानीय समस्या र आवश्यकताका बारेमा जानकार रहेको बताए । ‘४०–४२ वर्षदेखिको मेरो भूगोल यही हो । सबै समस्याका बारेमा थाहा छ । समाधान कसरी खोज्ने भन्ने एजेन्डा पनि मसँगै छ,’ उनले भने, ‘ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्नुहोस् । क्षेत्रगत विकासको जिम्मा एमालेले लिन्छ ।’

उनले क्षेत्रबासीको सुख दुःखमा सधैं साथ दिने प्रतिनिधि बन्न चाहेको बताए । बाटोघाटो, आधारभूत पूर्वाधार, जनजीविका, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाउँदै उनले विगतमा एमालेले जित्दा भएका विकास निर्माणका कामहरूको उदाहरण प्रस्तुत गरे । अन्य दलले जित्दा त्यस्तो परिणाम नदेखिएको उनको भनाइ थियो ।
लामो समय कोरामा बस्नुपर्ने परिस्थितिले समय अभावका कारण घरघरमा पुग्न नसकेको जानकारी दिँदै उनले चोकचोक र टोलटोलमा कार्यक्रम गर्नुपरेको बाध्यता बुझिदिन मतदातासँग आग्रह गरेका छन् । ‘मेरो घरको ढोका तपाईंहका लागि सधैं खुला छ । नागरिकसँग प्रत्यक्ष संवाद गर्न तयार छु,’ उनले भने ।
एमालेले अघि सारेको राष्ट्रिय समृद्धि र विकासको एजेन्डालाई क्षेत्रगत योजनासँग जोडेर कार्यान्वयन गर्ने वाचा उनले दोहो¥याएका छन् । जनताको सहयोग र विश्वास पाए समग्र विकासका लागि आफू पूर्ण रूपमा समर्पित हुने उनले बताएका छन् ।
मोरङ–६ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । नेपाली कांग्रेसका डा. शेखर कोइराला (निवर्तमान सांसद), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र रायसहित विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । ढकालले कठिन पारिवारिक अवस्थाबीच पनि चुनावी दौडलाई निरन्तरता दिँदै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन् ।

पारिवारिक पीडाको घडीमा समेत जनतामाझ फर्किनु ढकालका लागि भावनात्मक र राजनीतिक दुवै दृष्टिले महत्वपूर्ण क्षण बनेको एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरी (नवीन)ले बताए । अबका दिनमा प्रत्यक्ष भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिने ढकालको योजना छ । सेतो वस्त्रमा अभियानमा देखिएका ढकालले दुःखको घडीमा साथ र विश्वास माग्दै मोरङ–६ का मतदातालाई ‘सूर्य’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको जानकारी महानगर अध्यक्ष गिरीले दिए ।
ढकाल कोरामा बस्दा उनको निर्वाचन क्षेत्रमा पार्टी कमिटी, नेता कार्यकर्ता, आफन्त र शुभचिन्तकले चुनावी अभियानअन्तर्गत मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई जारी राखेका थिए ।
























