निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निर्णायक हुन्छ: प्रचण्ड

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १३:५०

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि बन्ने नयाँ सरकारमा आफ्नो पार्टीको भूमिका निकै महत्त्वपूर्ण र निर्णायक हुने दाबी गरेका छन्। मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको उल्लेख गर्दै निर्वाचनपछि देशको राजनीतिक बागडोर सम्हाल्न पार्टीले मुख्य भूमिका खेल्ने बताए। निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको अवस्थामा सबै नेता तथा कार्यकर्ताले थप मेहनत गरे नेकपा देशकै एक नम्बरको पार्टी बन्ने उनको भनाइ छ।

उनले नेकपा गठन भएपछि देशमा ध्रुवीकरणको नयाँ माहौल बनेको र ढिलोचाँडो सबै वामपन्थी कम्युनिस्टहरू फेरि एकै ठाउँमा उभिनुपर्ने धारणा राखे। नेकपा एमालेभित्र अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि रहेको दाबी गर्दै प्रचण्डले एमालेकै नेता-कार्यकर्ताहरूले फेरि एकताको झन्डा उठाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

देशमा वाम आन्दोलनलाई सशक्त बनाउन र क्रान्तिकारी शक्तिहरूलाई जोगाउन सबै कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले अबको लडाइँ मुलुकको समृद्धि र समाजवादका लागि हुने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.