
दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ ले नयाँ इतिहास लेख्ने दाबी गरेका छन्। मंगलबार दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस क्षेत्रका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई जिताएर झापा ५ ले सिंगो देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे।
सम्बोधनका क्रममा लामिछानेले मुलुक अहिले इतिहासकै महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै जनताको जागरणले नै देश बच्ने बताए। ‘मलाई बाटो-बाटोमा भेटेर बुबाआमाहरूले यो देश बचाऊ भन्दै आशीर्वाद दिनुहुन्छ,’ उनले भने, ‘म झापा ५ को भूमिबाट भन्न चाहन्छु- यो देश बच्छ पनि र अब बन्छ पनि।’
सभापति लामिछानेले बालेन शाहलाई पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको घोषणा समेत गरे। उनले थपे, ‘तपाईंहरूले यसपटक यस्तो उम्मेदवारलाई जिताउँदै हुनुहुन्छ, जो सम्भवतः संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री बनेर इतिहास रच्नुहुनेछ। आफ्नो पार्टीको उम्मेदवारलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्न पाउँदा मलाई गौरव छ।’
लामिछानेले बालेनको जितले युवा पुस्तामा नयाँ आशा सञ्चार गर्ने र नेपालको राजनीतिमा आमूल परिवर्तन ल्याउने दाबी गरे।
























